Section 75
बैंक वा वित्तीय संस्थाको स्वेच्छिक खारेजी
(१) स्वेच्छिक खारेजीमा जान चाहने कुनै बैंक वा वित्तीय संस्थाले स्वेच्छिक खारेजीको कार्ययोजना सहित राष्ट्र बैंक समक्ष निवेदन पेश गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम पेश हुन आएको निवेदन उपर जाँचबुझ गरी त्यस्तो बैंक वा वित्तीय संस्था वा विदेशी बैंक वा वित्तीय संस्थाको नेपालस्थित शाखा वा कार्यालयले आफ्नो ऋण तथा दायित्व पूर्ण रुपमा भुक्तानी गर्न सक्षम छ भन्ने कुरामा राष्ट्र बैंक विश्वस्त भएमा राष्ट्र बैंकले शर्तसहित स्वेच्छिक खारेजीको सैद्धान्तिक सहमति दिन सक्नेछ ।  (३) उपदफा (२) बमोजिम राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले देहाय बमोजिमका कार्यहरु गर्नु पर्नेछः– (क) सैद्धान्तिक सहमति प्राप्त गरेको मितिले सात दिनभित्र कम्पनी रजिष्ट्रारको कार्यालयमा सोको जानकारी दर्ता गराउने, (ख) सैद्धान्तिक सहमति प्राप्त गरेको मितिले तीस दिनभित्र सम्पूर्ण निक्षेपकर्ता, साहु वा सम्बन्धित व्यक्तिहरुलाई छिटो, छरितोे र विश्वसनीय माध्यमबाट सोको सूचना पठाउने, (ग) सैद्धान्तिक सहमति प्राप्त गरेको मितिले तीस दिनभित्र राष्ट्रियस्तरको दैनिक पत्रिकामा सो सम्बन्धी सूचना प्रकाशन गर्ने, (घ) राष्ट्र बैंकले तोकेका अन्य कार्य गर्ने ।